-खगेन्द्र पन्धाक लिम्बू
कमिलाबाट सिकेको ज्ञान- 'बाटोहरुको कुनै अन्त्य छैन। त्यसैले यात्राको पनि कुनै
समाप्ति छैन।' जान्दा-जान्दै पनिआफ्नै यात्रा चाहिं हर घुम्ति, गल्ली र कुईनेटोहरुमा टुँगिन खोज्छ। कायाकल्पबाट कायापलटको
परिवर्तनसम्म आउँदाकमिला वा एउटा कितपतङ्ग जत्ति पनि हुन नसकेको उत्तर आधुनिक एउटा
मान्छे। यो आत्मलघुताभाष पनि हो रमभित्रको एक चुनौती पनि हो।
हिंड्दा-हिंड्दै आफैं
जन्मे-हुर्केको माटोमा होस्, या,
कोलम्बसले भेटेका
भूमिमा होस। वा बर्षौ लडेर मान्छेले आफ्नोअधिनस्थ घोषणा गरेको
साम्राज्य नै होस्। मान्छेले स्वतन्त्र टेक्न कठिन भएकोछ। लघुताभाषको ढाकरले थिचिंदै विष्मयको अक्करेभीरमा पुग्छु
। उँभो आकास ढाकेर ढुङ्गे पहरा अहमवादमा निर्लिप्त छ। तल खोँचभित्रको गहिराईमा
कोशी कहाली लगाउँदै मभित्र भयवादको जरा गाड्न खोज्छ। भित्तातिर फर्किएर तुर्के
लाउँछु। बुझ्छु-गतिशीलताको एउटा पाठ, जो कोशी झैं आफ्नै पिसाब निरन्तर बग्ने कोशिसमा छ। पिसाब
बगे झैं म अघि बढ्छु।
यो साला काठमाडौ! मैले
बुझ्न नसकेको वा मलाई बुझ्न नसक्ने सहर! मलाई यहाँ फाप्दैन। गाउँलेलाई ठगेर बलियो
भई आएका बदमासहरु यहिं बस्छन्। दलाल, चाकडी, लेखक, कलाकार, नेता, विध्यार्थी सबै कोचिएका छन् यहाँ। गाउँबाट सपनाको ढाकर
बोकेर आएका मै जस्ता विलखवन्दहरु भविष्य खोज्दै गल्ली र सडक नापिरहन्छन् यहाँ।
कोहि न्यायनिसाफ खोज्दै आइपुगेका हुन्छन यहाँ। अचेल मेरो डेरा पनि यहिं छ।
प्राईभेट कार्यालय, मन्त्रालय, सडक, गल्ली कतै पनि म
अट्दिन।
‘ढुङ्गा बोल्छ।’
हनुमानढोका जेलमा अँधेरो
भित्ताको कालो पृष्ठमा सेतो अक्षरले लेखिएको यो पूर्ण लघुवाक्य जुन अर्थले लेखिए
पनि मैले एक शक्तिशाली लघुकविताको रुपमा लिएकोछु।
"हो,
मैले
राज्यमन्त्रीलाई चड्कन हानेकै हो।"
ढुङ्गा बोल्छ, म किन नबोलूँ ? तर त्यो मौखिक
थप्पड थियो। त्यसैले मानहानीको मुद्धामा
मलाई यहाँ ल्याईएको थियो ।
मन्त्रालयभित्र नै एसो
भनेको थिएँ-
"तँ चोर होस्। सारा गाउँलेलाई लुटेर यहाँ आएको गुण्डा होस्। यसर्थ: कि जनताको नागरिक अधिकार दुरुपयोग गर्ने तँ बदमास् होस्। चोर,गुण्डा र अपराधी
पाल्ने तँ महापापिष्ठ होस्।"
ऊ हामीले नै बनाएको
शक्तिशाली मान्छे। हिजो, ऊ हाम्रो सहयोग
माग्थ्यो। आज ‘गाउँमा बलात्कृत
एउटी युवतीको न्यायको निमित्त बोलीदिनु पर्यो’ भनेर अनुरोध गर्दा हामीलाई घोक्ररठ्याक लगाएर बाहिर
निकाल्ने आदेशवाला ब्यक्ति। उसको कार्यालयमा पनि हामीलाई दमन गरिएकोले प्रतिकारमा
त्यो गालीको थप्पड फर्काएको थिएँ। थाहा
थियो कि उसका सहोदर भाञ्जा नै त्यो बलात्कारी थियो। त्यसैले पनि उसैको निर्देशन
बमोजिम अदालतबाट त्यो मुद्धालाई तुहाउने कोशिस भएकोथियो।
बितेको सात महिना अघिको
त्यो बलात्कारको मुद्धा अहिले पनि उस्तै छ। अपराधीले न कुनै सजायँ पाएको छ, न पीडकले कुनै
न्याय नै। सात महिनामा त महिलाहरुको
गर्भमा नयाँ जीवन नै निर्माण भइसकेको हुन्छ, किन नदेखुन अरुले दुईज्यान भइसकेको! बलात्कार भएकैदिन
दर्ता भएको मुद्धा आजसम्म पनि कतैबाट पनि नहेरिएकोले गाउँलेहरु फेरि त्यस्ता
अपराधहरुबाट पीडित हुने भयले निरस भएता पनि म भने त्यसको न्याय निसाफ निकाल्न अझै
जागरुक नै थिएँ। मभित्रको दृढ संकल्प भने अझ बढ्दोथियो।
सत्ता र शक्तिको दुरुपयोग
गरेर रातो पासपोर्ट्मा आफ्ना भाञ्जालाई अमेरिका पठाएको तथ्य पनि थाहा भएकै हो ।
गततीनहप्ता अगि मात्र ऊ त्यहाँको ग्रीनकार्ड होल्डर पनि भईसक्यो । एउटा अपराधीलाई
भगाएर अपराधलाई छुपाउन सकिन्न । हरेक सत्यहरु आफैं कुनैवेला महान विजय बनेर देखा
पर्नेछन् । त्यो सत्य म हुँ म र विजय पनि मै हुँ।
जेलमा मलाई खाना पुर्याउन
आउने एक आफन्तको हातबाट यो लेख बाहिर पठाएपछि पत्रिकामा ठूलै ठाउँ पायो। मेरै
हस्तलिपीमा छापिएको यै लेखको कारण जनताको एकोहोरो दबाबले बाध्य बनेपछि प्रशासनले
पक्रिएर ऊ पनि अहिले यै जेलमा पुगेको छ। उसले मसँग मिल्न धेरै प्रतक्ष-अप्रतक्ष
सूचनाहरु मलाई बाँड्दैछ अहिले। र, वेला-वेला खिस्स-खिस्स मुस्कान दिईरहन्छ। म भने यै लेख
उसले सुन्नेगरी ठूलो आवाज निकालेर वाचन गरिरहन्छु। मलाई थाहा छ-चाँडै उ यहाँबाट
छुटेर जानेछ। तर मलाई पनि कुनै आपत्ति रहनेछैन कि त्यो बलात्कृत गर्भवती केटी
स्वयं मै हुँ। जो, न्यायको बाटोमा
सफलता प्राप्त गर्न दुई जीऊ सहित य यहाँ छु। मेरो पेटको बच्चालाई यो प्रशासन, देश र भविष्यले
कसरी सम्बोधन गर्छ ? म पनि हेरुँला! अन्तिम सत्य त मसँग नै छ।
सत्यलाई जालझेल गरेर कुनै
ठाना र जेल बन्धक गर्न सकिंदैन । म थुनुवा छैन म, सत्य हुँ, मेरो पेटको बच्चा सत्य हो।
मेरो नोटको यो लेख जब ठूलो स्वरले वाचन गर्छु - ऊ पल्लो
पुरुषकक्षमा बहुलाईरहन्छ एकोहोरो।
'ढुङ्गा बोल्छ।'
भित्ताको यो वाक्य कसैले
उच्चारण गर्दा उ पागल झैं बोल्छ –
'हो ! हो ! हो ! ढुङ्गा बोल्छ। मेरै भाञ्जा हो त्यो
बलात्कारी ! उसले सजायँ पाउनैपर्छ।'
एतिखेर मैले कमिलालाई
सम्झिरहेकै थिएँ । हो, यात्राको अन्त्य
छैन नि । हो,ढुङ्गा बोल्यो।
स्वविश्वासले आफ्नै बगेको पिसाब झैं संकल्पलाई
गतिशिलता दिईरहेकोले आफैं हौसिएको थिएँ।
'ढुङ्गा बोल्छ'
उसको एकोहोरो आवाज जेलभरी
थर्किरहेथ्यो ।
------------------------------------बैंकक, थाईल्याण्ड-------------------------------------
No comments:
Post a Comment